काठमाडौँ - ‘देउपुरको जस्तो खेती र पाती बाजुङको ठूलो गाउँ। उराठ लाग्ने दुर्लुङको डाँडा मोहनी लाग्ने पाङ।’
पर्वत र आसपासका क्षेत्रमा विगतमा निकै चर्चामा रहेको यस गीतमा उराठ लाग्ने भनिएको दुर्लुङको डाँडाको पहिचान अहिले भने फेरिएको छ । हिमाली एवं पहाडी दृश्यावलोकनको महत्वपूर्ण गन्तव्यमध्येको हालको कुष्मा नगरपालिका–३ स्थित दुर्लुङमा पछिल्ला वर्षमा भने ठाउँ ठाउँबाट पर्यटक पुग्ने गरेका छन्। स्थानीय जागरुकतासँगै यहाँको ऐतिहासिक एवं धार्मिक महत्वको प्रचारप्रसार हुन थालेसँगै विगतको उराठ लाग्ने दुर्लुङ यतिखेर जिल्लाकै मोहोनी लाग्ने गन्तव्यमध्ये एक जस्तै बन्दै गएको छ। धौलागिरिदेखि धौलाशिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाली दृश्यलाई एक साथ नियाल्न सकिने यो ठाउँ समुद्री सतहबाट एक हजार ४०० मिटर उचाइमा छ।
यस ठाउँबाट देखिने म्याग्दी, वाग्लुङ, गुल्मी, कास्की, पाल्पा, स्याङ्जा, पर्वत आदि जिल्लाका पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने गरेको स्थानीय समाजसेवी एवं दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सचिव बालकृष्ण शर्माले बताए। “नेपालका बाइसे चौबीसे राजाको पालादेखिको इतिहासको साक्षी दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिएको छ”, उनले भने। उनका अनुसार दुर्लुङकोटमा मल्लकालीन राजाको दरबार रहेको थियो। दरबारका मानिसलाई सपनामार्फत त्यहाँ भूमेको थान रहेको भन्ने चेष्टा भएसँगै भूमेको थान स्थापना गरिएको जनविश्वास छ।
तत्कालीन समयमा दरबार परिसरमा हतियार राख्ने र धार्मिक विधिअनुसार पूजाआजा गर्ने परम्परालाई यहाँका स्थानीयवासीले अझै पनि निरन्तरता दिँदै आएका छन्। दुर्लङकोटमा हाल रहेको मन्दिर भूकम्पपछि निर्माण गरिएको हो । यसअघि झण्डै ३० वर्षअघि निर्माण गरिएको मन्दिर २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो।