इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने

काठमाडौँ - सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पुनःस्थापनाका लागि तयारी सुरु भएको उल्लेख गर्दै सम्बन्धित पालिकालाई पत्राचार भएको जानकारी दिए। यसको स्थापनासँगै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ। इलाका प्रशासन कार्यालय नरैनापुर अहिले नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको छ। नागरिकता, प्रशासनिकलगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज आउने गर्छन्। प्रजिअ खत्रीले भने, “गाउँपालिकाले पाँचकोठे भवनको व्यवस्था गर्नेबित्तिकै कार्यालय स्थानान्तरण हुनेछ।” गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जिल्ला प्रशासन बाँकेको पत्र प्राप्त भएपछि आफूहरू भवनको खोजीमा लागेको जानकारी दिए।

इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न माग गर्दै नरैनापुरवासीले पाँच हजार हस्ताक्षर प्रजिअ खत्रीलाई बुझाएका थिए। नरैनापुर गाउँपालिका–४ मा रहेको इलाका प्रशासन कार्यालय विसं २०७२ मा असुरक्षाको कारण देखाई नेपालगञ्जमा विस्थापित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×