काठमाडौँ - आजका लागि क्वूएफएक्स सिनेमामा फिल्म 'प्रकाश'काे २२ सो तय भएको छ। रिलिज डेकाे दिन हिजाे क्विएफएक्सले साढे २ बजेपछि सो दिएको थिएन।
साँझको सो नपाएपछि ‘प्रकाश’ टिम आक्रोशित बनेकाे थियाे। ‘प्रकाश’ टिम रिसाएपछि साँझ क्वूएफएक्सले साढे ५ बजेको सो थपेको फिल्मका लेखक विकास सुवेदीले जानकारी दिएका छन्।
‘बिहानको भन्दा बेलुकाको सोमा दर्शकहरू धेरै आउँछन्। तर नियतवश नै हामीलाई क्वूएफएक्सले कम सो दिएको थियो’, विकासले भने। ढिलै भए पनि पाएकाे साढे ५ को सोमा दर्शकहरूको चाप बढेको उनले बताएका छन्।
हिजाेदेखि प्रदर्शनमा आएको फिल्मले दर्शक समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। काठमाडौँभित्र र बाहिर पनि ८० प्रतिशत सिट भरिएको उनले बताएका छन्। ‘बिहान लबिङ मलमा हाउसफुल थियो। पश्चिममा पनि निकै राम्रो सुरुवात भएको छ’, विकासले भने।