सर्लाही । सर्लाहीमा गएको साउन २५ गते घाँटी रेटेर एक भारतीय युवकको हत्या गरेको आरोपमा पक्राउ परेका अर्का भारतीय युवक जेल चलान भएका छन् । हत्यामा संलग्न भएको आरोपमा एक महिनाअघि पक्राउ परेका भारत सीतामढी लक्ष्मीपुर सोनवर्षा घर भएका २६ वर्षीय रञ्जित बैठालाई जिल्ला अदालत सर्लाहीले सोमबार पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो ।
भारतको सीतामढी घाना पुरौना भिलेज पोष्ट मनियारी– ५ घर भएका २३ वर्षीय अभिषेक राजको हत्यामा संलग्न रहेको आरोपमा बैठालाई सर्लाही प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थ्ति गराएको थियो । गएको साउन २५ गते पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीका हरिवन नगरपालिका–४ स्थित लखन्देही खोला किनारमा अभिषेकको धारिलो हतियारले काटेको अवस्थामा टाउको फेला परेको थियो ।