काठमाडौँ - यूएईको फ्रेञ्चाइज लिग इन्टरनेसनल लिग टी-२० (आइएल टी-२०) ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने तयारी गरेको छ।
यो पारिश्रमिक क्रिकेट लिगमध्ये भारतको इण्डियन प्रिमियर लिग (आइपिएल) पछिको बढी हो। आइएल टी-२० ले प्रतियोगितालाई आकर्षक र विश्व क्रिकेटको ध्यान तान्न खेलाडीलाई मोटो रकमको पारिश्रमिक दिने योजना बनाएको हो। मोटो रकमको कारण विश्वका ठुला खेलाडी प्रतियोगिता खेल्न आउने अनुमान गरिएको छ।
इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले स्वीकृती दिए पनि लिग उसको स्वामित्वमा भने छैन। इसिबीका उपाध्यक्ष खालिद अल जरुनी र बोर्डका महासचिव मुबाशिर उस्मानीको नेतृत्वमा लिगको व्यवस्थापन रहेको छ।
जनवरी २०२३ मा हुने लिगका हरेक टोलीले खेलाडीको तलबका लागि २.५ मिलियन अमेरिकी डलरसम्म खर्च गर्न पाउने प्रावधान राख्ने तयारी गरिएको छ।
आइपिएलमा सबैभन्दा धेरै कमाउने खेलाडीले प्रति सिजनमा २ मिलियन डलर पाउँछन्। यस्तै, पाकिस्तान सुपर लिगमा २ लाख डलर, द हन्ड्रेडले १ लाख ६४ हजार डलर र बिग ब्यास लिगमा सबैभन्दा बढी प्रतिसिजन २ लाख ३८ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने गरेका छन्। य
युएईको लिगमा ६ टोलीको सहभागिता रहनेछ भने १ टोलीमा १८ खेलाडी हुनेछन्। लिग अर्को वर्षको ६ जनवरीदेखि १२ फेब्रुअरीसम्म हुने तालिका रहेको छ। डबल राउण्ड रोबिनका आधारमा खेलाडी प्रतियोगिताको शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउने छन्।
लिगका ६ मध्ये ३ टोली आइपिएल फ्रेन्चाइजको स्वामित्वमा रहेको छ। मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले युएईको लिगमा पनि टोली किनेका हुन्। बाँकी ३ टोली ल्यान्सर क्यापिटलको स्वामित्वमा रहेका छन्।
लिगको उद्देश्य एक्सपोजर प्रदान गर्ने र युएईका नयाँ प्रतिभा खोजी गर्ने बताइएको छ। १ टोलीका १८ खेलाडी मध्ये १२ विदेशी खेलाडी राख्न सकिनेछ। १ टोलीमा कम्तिमा ३ यूएईका खेलाडी, २ एसोसिएट देशका खेलाडी र यूएई यू-२३ टोलीको १ खेलाडी हुनुपर्छ। प्लेइङ सेटमा कम्तिमा १ यूएई र १ एसोसिएट खेलाडीसहित बढीमा ९ विदेशी खेलाडी हुन सक्छन्।
लिगमा बढीमा ३ लाख ४० हजार अमेरिकी डलर पारिश्रमिक र घटीमा १० हजार अमेरिकी डलर पारिश्रमिक हुनेछ। टोलीले बोनसको रुपमा ५ लाख अमेरिकी डलरसम्म बाढ्न सक्नेछ। ५ खेलाडी सिधा छनोट गर्न सकिनेछ भने बाँकी खेलाडी ड्राफ्ट र अक्सनबाट छनोट हुनेछन्।