काठमाडौँ - जुम्लाको गुठीचौर गाउँपालिका–४ प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने सडक शिलान्यास गरिएको छ। गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जुम्ला खलङ्गाबाट दानसाँघु, गज्र्याङकोट हुँदै डोल्पा जाने सडक हाल सञ्चालनमा रहेको जानकारी दिए।
यो सडक हिउँदका लागि उपयुक्त हुनेछ। डोल्पामा सडक विस्तार गर्न दुहिया भीर फुटाल्नुपर्ने भएको छ। उनले भने, “गाउँपालिकाको सबैतिरबाट डोल्पा जोड्न सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको छ।” यसले डोल्पा, जुम्लाको व्यापारिक सम्बन्धलाई बलियो बनाउनेछ। गुठीचौरदेखि डोल्पासम्म सडक विस्तार गर्न रु. दुई करोड ६० लाख विनियोजन भएको छ। सडक निर्माण गर्न गुठीचौर गाउँपालिकाको एक करोड ३० लाख तथा कर्णाली प्रदेशको समपूरक बजेटबाट एक करोड ३० रुपैयाँ विनियोजन भएको अध्यक्ष भण्डारीले बताए। जुम्ला र डोल्पाको व्यापारी नाका गुठीचौर गाउँपालिका हो। व्यापारका सामान आयात तथा निर्यात गर्न सजिलो हुने वडाध्यक्ष जग्गीप्रसाद जैसीले जानकारी दिए।
जुम्लाको जडीबुटी र स्याउ, डोल्पाको बहुमूल्य यार्सासहितका जडीबुटी ओसारपसार गर्न सकिनेछ। कर्णालीका लागि लाभदायक सडक हुने गुठीचौर गाउँपालिकाले जनाएको छ।