इटालीलाई हराउँदै स्पेन फाइनलमा

काठमाडौँ - यूईएफए नेशन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि स्पेन र क्रोएसिया भिड्ने भएका छन्। स्पेनले बिहीबार राति खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इटालीलाई २—१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

क्रोएसिया भने बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा नेदरल्यान्ड्सलाई ४—२ गोलले हराएको थियो। क्रोएसिया दोस्रो पटक ठुलो प्रतियोगिताको फाइनलमा पुगेको हो। यसअघि सन् २०१८ को विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४—२ गोलले हराएको थियो।

दोस्रो सेमिफाइनल खेलमा स्पेनका लागि एरेमी पिनोले पहिलो गोल गरेका थिए। खेल सुरु भएको तेस्रो मिनेटमै आकर्षक गोल गर्दै उनले टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, स्पेनको त्यो अग्रता लामो समय कायम रहन सकेन।

निर्धारित समयको ११औं मिनेटमा इटालीका सिरो इम्मोबाइलले जवाफी गोल गर्दै पहिलो हाफको खेल १—१ को बरबरीमा टुङ्ग्याएका थिए। सिरोले पेनाल्टीमार्फत गोल गरेका हुन्। दोस्रो हाफको गोल थप प्रतिस्पर्धात्मक बनेको थियो।

निर्धारित समयको ८८औं मिनेटमा होजेलुले निर्णायक गोल गर्दै स्पेनलाई फाइनलमा पु¥याएका हुन्। उनी परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए। स्पेनले सन् २०१२ पछि कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

सन्  २०१२ मा स्पेनले युरो कपको उपाधि चुमेको थियो। स्पेन र इटाली दुवै विश्वकपको पूर्वविजेता राष्ट्र हुन्। स्पेन सन् २०२१ मा भएको यूईएफए नेशन्स लिगको फाइनलमा फ्रान्ससँग पराजित भएको थियो। इटालीले अब तेस्रो स्थानका लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल र तेस्रो स्थानको खेल जुन १८ तारिखमा नेदरल्यान्ड्समा खेलिने छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×