सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेतको नयाँ नेतृत्व चयनका लागि अन्तत: निर्वाचन नै हुने भएको छ ।
अध्यक्षमा आकांक्षी धेरै भएपछि सहमतिबाटै नेतृत्व छनोटका लागि प्रयास गरिएको थियो । तर सहमति हुन नसकेपछि प्यानल नै खडा गरेर निर्वाचनबाट नेतृत्व छनोट गर्न लागिएको हो ।
अध्यक्षमा अमृत विसी र डण्डि शर्मा निर्वाचनमा भिड्दै हुनुहुन्छ । विसी वर्तमान पार्टी उपाध्यक्ष र शर्मा सचिवालय सदस्य हुनुहुन्छ ।
यस्तै, पदाधिकारीहरुमा पनि निर्वाचन हुने देखिएको छ । उपाध्यक्षमा विसीको प्यानलबाट कुलमणि देवकोटा, सचिवमा कुविन्द्रकुमार केसीले उम्मेद्वारी दिनुहुने भएको छ ।
यस्तै, शर्माको प्यानलबाट भने उपाध्यक्षमा ऋषि गिरी र सचिवमा रेशम राना चुनावमा भिड्ने गरी अधिवेशनमा सहभागी प्रतिनिधिहरुबाट मत माग्न शुरु गरेका छन् । अध्यक्ष मण्डलले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने गरी तयारी थालेको छ ।