नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरू

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरू गरेको छ।

क्यानले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि खेलाडी दर्ता सुरू गरेको हो। क्यानका अनुसार खेलाडी दर्ता अगस्टको ३१ तारिखसम्म मात्र रहनेछ।

खेलाडी दर्ताका लागि क्यानले विभिन्‍न चारवटा मापदण्ड तोकेको छ। खेलाडीले सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप (पीएम कप) तथा मेयर कप खेलेको हुनुपर्ने छ।

यस्तै, २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने छ। २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिइने छ। साथै, सन् २०१८ देखि फ्रेन्चाइज लिग खेलेका खेलाडीलाई प्राथमिकता दिइने क्यानले जनाएको छ।

क्यानका अनुसार ड्राफ्टमा कूल ६६ नेपाली खेलाडी सहभागी हुनेछन्। हरेक टोलीले ११/११ नेपाली र ५/५ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्।

ड्राफ्टअन्तर्गत ‘ए’ ग्रेडमा ६, ‘बी’ मा २४ र ‘सी’ मा ३६ नेपाली खेलाडी हुनेछन्। ‘ए’ ग्रेडका नेपाली खेलाडीले १५ लाख, ‘बी’का १० लाख र ‘सी’काले ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्। हरेक फ्रेन्चाइजले ‘ए’ ग्रेडबाट १, ‘बी’बाट ४ र ‘सी’बाट ६ नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछन्। विदेशी खेलाडीको हकमा पनि नेपाली खेलाडीको जस्तै ग्रेड लागू हुने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×