काठमाडौँ - विद्युत् नियमन आयोगका निलम्बित अध्यक्ष दिल्लीबहादुर सिंहलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्ने समय सीमा दिइएको छ।
विद्युत् नियमन आयोगका पदाधिकारीको कार्यकक्षमता सम्बन्धमा गठित छानबिन समितिले अध्यक्ष सिंहलाई सो समयभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नदिएको खण्डमा कानुन बमोजिम कारबाही हुने आज प्रकाशित सूचनामा उल्लेख छ। आयोगका पदाधिकारीको कार्यदक्षताको अभाव देखिएको भन्दै सरकारले छानबिन समिति गठन गरेको हो।
समितिले भौतिक रुपमा पटकपटक प्रत्यक्ष रुपमा भेट गरी स्पष्टीकरण पेश गर्न आग्रह गरे पनि सिंहले अटेर गरेका कारण सार्वजनिक सूचना प्रकाशित गरेको छ। कार्यदक्षताको अभावका कारण पदीय कर्तव्य पालना गर्न सके नसेकका विषयमा छानबिन समितिले मुलुकी देवानी संहिता कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १०५ को उपदफा २१ बमोजिम विद्युतीय माध्यम इमेलमार्फत स्पष्टीकरण दिन भनेको छ। समितिले शुक्रबार इमेलमार्फत स्पष्टीकरणको सूचना इमेल गरेको र सार्वजनिक रुपमा आज सूचना प्रकाशित गरी जानकारी गराएको हो।
सिंहलाई म्यादभित्रै स्पष्टीकरण पेश गर्न र अन्यथा कानुन बमोजिम कारबाही हुने बताइएको छ।