काठमाडौँ - यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ। खेमलाल=हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ज्ञवालीलाई प्रदान गरेका हुन्।
त्यस्तै प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिएको छ। गत वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारको रूपमा उक्त पुरस्कार घोषणा गरेको थियो। समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ।
लाखौँ मानिसलाई आँखाको ज्याति प्रदान गर्ने नेत्र चिकित्सक डा रुइतलाई उक्त पुरस्कार अध्यक्ष लामिछानेले प्रदान गरेका थिए। यस वर्षको पद्मश्री साधना सम्मान ३० को दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्वपूर्ण योगदान दिने कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ। उनका सातवटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथा सङ्ग्रह प्रकाशित छन्।
समाजिक यथार्थवादी कथा लेखेर नेपाली कथा साहित्यलाई समृद्ध बनाएकी कथाकार ठकुरीलाई अध्यक्ष लामिछानेले उक्त सम्मान प्रदान गरे। तीनै पुरस्कार राशि जनही रू ३ लाख रहेको छ।