काठमाडौँ - पाहुना टोली भारत र इंग्ल्यान्डबीच जारी पाँचौँ टेस्ट क्रिकेट खेलका क्रममा एजबास्टन मैदानमा भारतीय समर्थकमाथि रंगभेदी दुर्व्यवहार भएको विषयमा छानविन सुरु भएको छ।
इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) र वार्विकसायर काउन्टी क्रिकेट क्लबले उक्त विषयमा छानविन सुरु भएको जनाएको हो।
खेलका क्रममा चौथों दिन आफूहरुमाथि इंग्ल्यान्डका समर्थकले दुर्व्यवहार गरेको भारतीय समर्थकहरुले आरोप लगाएका थिए साथै उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा समेत यसबारे लेखेका थिए।
इसीबीले दुर्व्यवहारको घटनाबारे गम्भिर रहेको जनाउँदै क्रिकेटमा दुर्व्यवहारको कुनै स्थान नरहेको उल्लेख गरेको छ।
खेलमा भारतविरुद्ध ३ सय ७८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई जितका लागि १ सय १९ रनको आवश्यकता रहेको छ।