काठमाडौँ - नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले विसं २०७२ वैशाख १२ गतेको अकल्पनीय विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएका आफ्ना कर्मचारी तथा स्वयंसेवकको स्मृतिमा श्रद्धाञ्जलिसभा आयोजना गर्यो।
विश्व सम्पदा सूचीमा अवस्थित ऐतिहासिक काष्ठमण्डपमा रक्त सङ्कलन भइरहेको अवस्थामा गएको भूकम्प कारण सो दिन केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लालमाया गुरुङ, रक्त सङ्कलन स्वयंसेवक सानुमैया कपाली र सिम्रन डङ्गोललगायत स्वयंसेवी रक्तदाताको निधन भएको थियो।
सोमबार आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले मानवीय सेवामा तल्लीन रेडक्रसका स्वयंसेवक र कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह गरका छन्।
उनले भने, ‘रक्तसञ्चार सेवालाई चुस्त बनाउन सामूहिक सहकार्य र समन्वयको आवश्यक छ। यसमा नेरेसोले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ।’ उनले पालिकाहरुको सहकार्यमा नेरेसोले निःशुल्क रक्तसञ्चार अभियान सुरुआत गरिसकेको जानकारी समेत दिए।
कार्यक्रममा रक्तसञ्चार सेवाका कर्मचारी गमला क्षेत्री र राम श्रेष्ठले आफूहरूले सो दिन ‘फिल्ड’मा खटिँदा भोगेको अनुभव सुनाउँदै आगामी दिनमा पनि मानवीय सेवामा तल्लीन हुने बताए। नेरेसो कर्मचारी सङ्घका अध्यक्ष विष्णु तिम्सिनाले अग्रपङ्क्तिमा खटिने कर्मचारी तथा स्वयंसेवकको मनोबल बढाउन राज्य र संस्थाले थप काम गर्नुपर्ने आवश्यकता औँल्याए।
नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले व्यक्तिगत, सामुदायिक र संस्थागत पूर्वतयारीको थप खाँचो औल्याउँदै यसका लागि प्रयास भइरहेको जानकारी दिए।
उनले भने, ‘मानवीय सेवा तथा विपद् प्रतिकार्यका लागि नेरेसोले दीर्घकालीन योजना बनाई समुदायमा काम गरिरहेको छ।’