काठमाडौँ - रंगशालामा समर्थक बिरामी भएपछि झन्डै ५० मिनेट रोकिएको खेलमा बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा कार्डिजलाई ४-० ले हराएको छ।
खेल सकिन १० मिनेटभन्दा कम समय बाँकी थियो। तर, एक्कासी खेल रोकिएको थियो। १९ हजारभन्दा धेरै दर्शक उपस्थित रंगशालामा १ जना समर्थक अचानक बिरामी भएपछि उनलाई प्राथमिक उपचारपछि अस्पताल लगिएको थियो।
खेल रोकिँदासम्म बार्सिलोनाले २-० को अग्रता लिइसकेको थियो। पाहुना टोली बार्सिलोनाले फ्रांक डी जोङको गोलबाट ५५ औँ मिनेटमा अग्रता लिएको थियो। ६५ औँ मिनेटमा रोबर्ट लेवानडोस्कीले बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए। ५० मिनेट रोकिएर खेल सुरु भएपछि बार्सिलोनाले थप २ गोल थपेको थियो।
खेल सकिन ४ मिनेट बाँकी हुँदा अंसु फातीले गोल गरे भने इन्जुरी समयमा ओसमाने डेम्बेलेले अर्को गोल थपेका थिए। फाती र डेम्बेले दुवैको गोलमा लेवानडोस्कीले अवसर सिर्जना गरिदिएका थिए।
ला लिगामा बार्सिलोनाको लगातार चौथो जित हो। ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा एक अंकले माथि हो। तर, रियालले १ खेल कम खेलेको छ। पराजित कार्डिज अंकविहीन रहेको छ।