काठमाडौँ - इंग्लिस क्लब चेल्सीका गोलकिपर एडुवार्ड मेन्डी र मिडफिल्डर एनगोलो कान्टेले चोटका कारण च्याम्पियन्स लिग अन्तर्गत आरबी साल्जवर्गविरुद्धको खेल गुमाउने छन्।
चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आजराति अस्ट्रियन क्लव साल्जबर्गको सामना गर्दैछ। मेन्डीको घुँडाको चोट तथा कान्टेको हयामस्ट्रीङमा समस्या देखिएका कारण आजको खेलमा अनुपस्थित हुने क्लबले जनाएको छ।
पहिलो खेलमा क्रोएसियन क्लब डिनामो जाग्रेबसँग १-० को हार व्यहोरको चेल्सी घरेलु मैदानमा भने जित निकाल्न चाहन्छ।
चेल्सीका नवनियुक्त प्रशिक्षक ग्राहम पोर्टरका लागि यो पहिलो खेल हुनेछ। पहिलो खेलमा पराजित भएपछि क्लबले थोमस टुचेललाई बर्खास्त गर्दै पोर्टरलाई नियुक्त गरेको थियो।