काठमाडौँ - क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्नसक्ने मिडिया रिपोर्ट सार्वजनिक भएको छ।
एक बर्ष सम्झौता बाँकि रहेपनि म्यानचेस्टर युनाइटेडले नयाँ खेलाडी किन्ने बारे चासो नदिएको भन्दै रोनाल्डोले असन्तुष्टि व्यक्त गरेको बताइएको छ। मिडिया रिपोर्टका अनुसार रोनाल्डोले क्लबको व्यवस्थापनका केहि अघिकारीहरुसँग खेलाडी भित्र्याउने विषयमा चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले टिमलाई बलियो बनाउन र उपाधि जित्न नयाँ खेलाडी भित्र्याउनुपर्ने बताउदै आइरहेका छन्।
नयाँ प्रशिक्षक एरिक टेन हगले नयाँ खेलाडी साइन गर्न सुस्तता देखाएकोले अहिले ट्रान्सफर बजारलाई लिएर युनाइटेडको आलोचना पनि भैरहेको छ।
युनाइटेडबाट यस सिजनपछि पाउल पोग्वा, जेस्से लिंगार्ड, जोन माटालगायतका खेलाडीले क्लब छोडेपछि क्लबले नयाँ खेलाडी किन्न कुनै चासो देखाएको छैन।
मिडिया रिपोर्टका अनुसार रोनाल्डोलाई जर्मन च्याम्पियन बायर्न म्युनिखले भित्र्याउन सक्ने अनुमान गरिएको छ। रोबेर्ट लेवानडोस्कीले बायर्न छोड्ने बताइरहेकाले रोनाल्डो उपलब्ध भएमा लेवानडोस्कीको ठाउमा लैजान सक्ने अनुमान भइरहेका छन्।