चोटका कारण लिभरपुलका फरवार्ड लुइस डियाज तीन महिना मैदान बाहिर

काठमाडौँ - इंग्लिस क्लब लिभरपुलका कोलम्वियन फरवार्ड लुइस डियाज कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन्।

घुँडाको चोटको कारण उनी डिसेम्बरसम्म अर्थात कम्तीमा ३ महिना मैदान बाहिर रहने भएका हुन्। प्रिमियर लिग अन्तर्गत आइतबार राति आर्सनलसँग ३-२ ले पराजित भएको खेलमा डियाजले चोट बोकेका थिए। २५ वर्षीय डियाजको सोमबार घुँडाको स्क्यान गरिएको थियो। उनको घुँडाको चोटको शल्यक्रिया गर्नु नपर्ने भएपनि उनले विश्वकपपछि सम्मै खेल्न सक्ने छैनन्।

२० नोभेम्वरबाट कतारमा फिफा विश्वकप शुरु हुँदा लिभरपुलले १३ नोभेम्वरसम्ममा १० खेल खेल्ने तालिका छ। लिभरपुलले २६ डिसेम्वरमा एस्टन भिल्लासँग खेल्दै पुन प्रिमियर लिगमा फर्कनेछ। डियाजको चोटसँगै यो सिजन खराव प्रदर्शन गरिरहेको लिभरपुललाई थप समस्या थपिएको छ। गत सिजनको उपविजेता लिभरपुल यो सिजन ८ खेल खेल्दा १० अंक मात्रै जोड्दै १०औं स्थानमा छ।

लिभरपुलले कमजोर शुरुवात गरेपनि डियाजले लिभरपुलका लागि उच्च प्रदर्शन गरिरहेका थिए। डियाजले यो सिजन लिभरपुलका लागि १२ खेल खेल्दा ४ गोल गरेका छन्। डियाजले आर्सनलका मिडफिल्डर थोमस पार्टीसँग जुध्न पुग्दा पहिलो हाफको अन्त्यतिर बैसाखीको सहारामा इमिरेट्स स्टेडियम छाडेका थिए। त्यही खेलमा ट्रेन्ट एलेक्साण्डर-अर्नोल्ड पनि चोटकै कारण दोस्रो हाफको शुरुमै मैदान छाड्न पुगेका थिए।

लिभरपुलले बुधबार च्याम्पियन्स लिगमा रेन्जर्ससँग खेल्दैछ। त्यसपछि आइतवार प्रिमियर लिगमा एनफिल्डमा च्याम्पियन म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×