एक महिनामा तीन छावा जन्मिए

काठमाडौँ - चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा गएका एक महिनामा तीन छावा जन्मिएका छन्।

गत माघ १९ गतेदेखि यही फागुन १७ गतेसम्म तीन हात्तीले बच्चा जन्माएका हुन्। वैशाख यता यो सङ्ख्या चार पुगेको छ। केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार माघ १९ गते तीर्थमान कलिले जन्माएको बच्चालाई रामसार कली नामाकरण गरिएको छ। माघ २९ गते हिमालीकलीले जन्माएको बच्चालाई भद्रगज नामाकरण गरिएको छ।

यस्तै, फागुन १७ गते डम्बर कलीले भाले बच्चा जन्माएको भए पनि नामकरण गरिसकिएको छैन। कली पोथी हो भने गज भाले हो। २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउने गर्दछ। यसअघि, गत वैशाखमा एउटा बच्चा जन्मिएको थियो। तीन चार महिनाभित्रमा लोकतन्त्र कली र ऐश्वर्यकलीले बच्चा जन्माउने प्रमुख चौधरीले बताए। प्रजनन केन्द्रमा जङ्गली हात्तीबाट प्रजनन हुने गरेको छ। केन्द्रमा अधिकांश समय रोनाल्डो रहेकाले यी बच्चा रोनाल्डोका नै भएको उनको भनाइ छ।

यद्यपि, ध्रुवे र गोविन्दे पनि समय समयमा संसर्गका लागि आउने गरेको उनले जानकारी दिए। निकुञ्जमा हाल ५८ हात्ती छन्। तीमध्ये ६ कोसीटप्पु राष्ट्रिय निकुञ्जका दरबन्दीका हात्ती हुन्। प्रजनन केन्द्रमा मात्रै हाल ११ माउ र १३ छावा गरी २४ हात्ती छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×