नेपालगन्ज- कोरोना संक्रमणका बेला बेड अभाव हुन नदिन बाँकेमा १ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको छ । महामारीका बेला भारतबाट आएका र जिल्लामा एकैपटक ठूलो संख्यालाई कोरोना पुष्टि भएमा राख्न होल्डिङ सेन्टर निर्माण भइरहेको हो। होल्डिङ सेन्टरमा ३ सय बेड तयार गरिएको छ। अहिले नेपालगन्ज–१४, भवानीयापुरमा २९ करोड ३८ लाख रुपैयाँ खर्च गरेर यसको निर्माण भइरहेको हो।
अहिले ३ सय बेड सञ्चालनमा आएको र एक महिनाभित्र हजार बेड तयार हुने प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। ‘यो महिनाभित्र हजार बेड नै तयार हुने र चैतमा सम्पूर्ण फिनिसिङ गरेर हस्तान्तरण गर्ने तयारी छ,’ उनले भने। कोरोनाका बिरामीलाई लक्षित गरेर बनाइएको होल्डिङ सेन्टरमा अन्य विपद्मा परेका व्यक्तिलाई राख्न सकिने प्रमुख जिल्ला अधिकारी खत्रीले सुनाए। उनका अनुसार होल्डिङ सेन्टरमा नाकामा संक्रमण पुष्टि भएकालाई राखिनेछ। नेपालगन्जमा अहिले बाल मन्दिरमा रहेको आइसोलेसन सेन्टरमा कोरोना संक्रमितलाई राख्ने गरिएको छ।
२०७८ साउनमा सम्झौता भएको होल्डिङ सेन्टर गत असोज २४ गते सम्पन्न गर्नु पर्थ्यो। यो अवधिमा काम नसकिएपछि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो। तर थपिएको समयमा पनि होल्डिङ सेन्टर तयार हुन सकेको छैन। हनुमान निर्माण कम्पनी ललितपुरले ठेक्का लिएर काम सुरु गरेको हो। सरकारले नेपाली सेनामार्फत ठेकेदारबाट होल्डिङ सेन्टरको काम गराइरहेको छ।