काठमाडौँ- कर्णाली प्रदेशमा पहिलोपटक मिस नेपालको अडिसन आयोजना भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार र बुधबार अडिसन आयोजना गरिएको हो। दैलेख र सुर्खेत लगायत प्रदेशका जिल्लाबाट १० जना सुन्दरीले अडिसन दिएका छन्।
आयोजक द हिडन ट्रेजरले पहिलोपटक कर्णालीमा अडिसन लिन लागिएको खुसी व्यक्त गरेको छ। हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले मिस नेपाल दुर्गम ठाउँमा पुग्नु हर्षको कुरा भएको बताए।
बुधबार सुर्खेत र नेपालगञ्जमा अडिसन सकिंदैछ भने धनगढीमा बिहीबार हुनेछ। धरान र काठमाडौंमा अडिसन हुन बाँकी छ। अहिलेसम्म ७०० भन्दा बढीले प्रतिस्पर्धाका लागि आवेदन दिएका छन्।
आवेदन दिनेको संख्या अहिलेसम्मकै उच्च रहेको हिडन ट्रेजरले जनाएको छ। मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरको गोदावारीमा आयोजना हुँदैछ।