काठमाडौँ - जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले लगातार तेस्रो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ। घरेलु टोली भिएफएल बोचुमलाई ७-० ले पराजित गर्दै बायर्नले नयाँ सिजनमा लगातार तेस्रो जित निकालेको हो।
बायर्नको फराकिलो जितमा साडियो मानेले २ तथा लिरोए साने, म्याथिज डि लेग्ट, किङ्सले कोमान र सर्ज जिनाब्रीले गोल गर्दा १ गोल उपहार पाएको थियो। गोलको वर्षा भएको खेलमा बायर्नले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा ३ गोल थपेको थियो।
आइतबार राति भएको खेलको चौथो मिनेटमा लिरोए सानेको गोलबाट बायर्नले गोलको खाता खोल्यो। २५औं मिनेटमा डि लेग्टले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए।
३३औं मिनेटमा किङ्सले कोमानले गोल गरेपछि बायर्न खेलमा ३-० ले अघि बढ्यो। ४०औं मिनेटमा साडियो मानेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन। तर त्यसको २ मिनेटपछि मानेले गोल गर्दै बायर्नलाई पहिलो हाफमा ४-० को आरामदायी अग्रता दिलाएका थिए।
६०औं मिनेटमा साडियो मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेका थिए। ६९औै मिनेटमा क्रिष्टियन गाम्बोआले आत्मघाती गोल गरेपछि बायर्न खेलमा ६-० ले अघि बढ्यो। ७६औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाएका थिए।
बलियो बायर्नविरुद्ध बोचुमले कुनैपनि समय खुलेर खेल्न सकेन। जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित बोचुम अंकविहीन हुँदै पुछारमा रहेको छ।