काठमाडौँ - सेनेगलका फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्व कप फुटबल खेल्न नसक्ने भएका छन्। जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्व कप गुमाउने पुष्टि गरेको छ। साथै सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्व कपबाट बाहिरिएको जनाएको छ।
विश्वकप फुटबल पर्सि आइतवारदेखि कतारमा सुरु हुँदैछ। केही दिनअघि मात्रै मानेले विश्व कपको पहिलो खेल गुमाउने भनिएको थियो। तर उनको दायाँ खुट्टामा लागेको चोट निको हुन समय लाग्ने भएको छ। घाउमा शल्यक्रिया समेत गरिएको छ।
अब उनी झण्डै ३ महिना मैदान बाहिर रहने छन्। विश्व कप फुटबलमा सेनेगल समूह ‘ए’ मा रहेको छ। सेनेगलले पहिलो खेल नोभेम्बर २१ तारिख अर्थात् आउँदो सोमवार नेदरल्यान्ड्ससँग खेल्दै विश्व कपको सुरुवात गर्नेछ।