काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गरेका छन् ।
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनी प्रश्न गरे ।
उनले लिङदेनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै उक्त कामको समर्थन गर्ने बताए । उनले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने पनि स्पष्ट बताए ।
उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्रीहरू मन्त्री बन्नुभएको हो रु के यसले देशको विकास हुन्छरु कर्णालीमा दुई लाख पुलमा । जनकपुरको वडामा चाहिँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन । मधेश प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? पीडा छ। संसदमा माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो। यो के राम्रो हो ? होइन । तर उहाँको पीडा छ, च्यात्नुहुन्छ । च्यातेको म समर्थन गर्छु। यो च्यात्नुपर्छ । एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो ।’
उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको बताए ।