काठमाडौँ - १७ वर्षको अन्तरालपछि सेप्टेम्बर २० बाट इङ्ग्ल्यान्डले पाकिस्तानको भ्रमण गर्ने भएको छ।
यस अवधिमा पहिलो ४ टी-२० खेल कराँचीमा र त्यसपछि ३ वटा टी-२० खेल लाहोरमा खेल्नेछन्। यो टी-२० सिरिजको अन्तिम खेल २ अक्टोबरमा हुनेछ।
त्यसपछि इङ्ग्ल्यान्डको टोली टी-२० विश्वकपका लागि अष्ट्रेलिया प्रस्थान गर्नेछ। टी-२० विश्वकपपछि इङ्ग्ल्यान्डको टोली डिसेम्बरमा ३ टेस्टको सिरिज खेल्न पाकिस्तान फर्कनेछ। इङ्ग्ल्यान्डबाहेक न्यूजिल्यान्डको टोलीले पनि २ पटक पाकिस्तानको भ्रमण गर्नेछ। यस भ्रमणमा पहिलो डिसेम्बर र जनवरीमा २ टेस्ट र ३ एकदिवसीय खेल हुनेछन्।
त्यसपछि अर्को वर्ष अप्रिलमा न्यूजिल्यान्ड टोलीले पाकिस्तानमा फेरि ५ एकदिवसीय र ५ टी-२० खेल खेल्नेछ। आगामी जनवरी महिनामा वेस्ट इन्डिजको टोलीले पनि पाकिस्तानमा ३ टी-२० खेल खेल्नेछ।
अर्को वर्ष पाकिस्तानले पनि सन् २००८ पछि पहिलो पटक एसिया कप आयोजना गर्न लागेको छ। यस वर्ष पाकिस्तानले सुरुमा एसिया कप आयोजना गर्ने भनिएको थियो, तर श्रीलंकाको खेल तालिका अनुसार परिवर्तन गरिएको थियो।
तर, श्रीलंकाको वर्तमान राजनीतिक र आर्थिक अवस्थालाई ध्यानमा राख्दै यस पटक एसिया कप युएईमा आयोजना हुने भएको छ। यसपटकको एसिया कप टी-२० फर्म्याटमा खेलाइनेछ। अर्को वर्ष यो प्रतियोगिता ५०-५० ओभरको हुने तय भएको छ।