काठमाडौँ। सरकारका दुई महिला मन्त्रीले अहिले पार्टी र सरकारमा महिला सहभागिता राम्रो हुँदै गएको बताएका छन्। महिला सुरक्षा दबाब समूहले आज महिला मन्त्रीहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अझै पनि समावेशी सहभागिताका लागि धेरै गर्न बाँकी रहेको बताए।
मन्त्री श्रेष्ठले पार्टीभित्र आन्तरिक सङ्घर्षबाट नेकपा माओवादी (केन्द्र)को विधानमा केन्द्रीय कमिटिमा ३७ प्रतिशत सुनिश्चित गरिएको बताइन्। पदाधिकारीमा पनि महिला सहभागिता सुनिश्चित गर्न आवाज उठाइरहेको उनले बताइन्। मन्त्रीपरिषद्मा रहेका सबै महिला मन्त्री महिला अधिकारका लागि आवाज उठाउन लागिपरेको उनको भनाइ छ। उनले भनिन्, “अधिकार पाउनका लागि हामी सबैले आआफ्नो पार्टीमा सङ्घर्ष गर्नुपर्छ।”
आफ्नो पार्टीले विगतमा भन्दा सरकार र संसदीय समितिमा महिला नेतृत्वलाई जिम्मेवारी दिन थालेको मन्त्री श्रेष्ठले बताइन्। अहिले सरकारमा महिला सहभागीता बढ्नु आन्दोलनको बलले भएको उनको भनाइ छ। आफू समूहको स्थापना कालदेखि नै जोडिएपनि पहिले अभियानका रुपमा रहेकामा यसलाई संस्थाका रुपमा दर्ता गर्दा आफू सहमत नभएको उनले बताइन्।
मन्त्री झाँक्रीले प्रविधिको विकाससँगै महिला सुरक्षामा नयाँनयाँ जोखिम बढीरहेकाले यो विषय महत्वपूर्ण भएको बताइन्। इन्टरनेटको प्रयोग गरेर हुने हिंसा समाजमा चुनौतीका रुपमा देखा परेको उनको भनाइ छ। सन्तानलाई सानैदेखि नै समान रुपमा हुर्काउनुपर्नेमा उनको जोड छ। उनले भनिन्, “छोरीलाई हिंसा सहनु हुँदैन भनेर र छोरालाई हिंसा गर्नु हुँदैन भनेर हुर्काउनुपर्छ।”