काठमाडौँ - जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्षपछि यहाँका आठवटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ।
परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो। यहाँको चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा सञ्चालन भइरहेको थियो। अब सिजा हिमा, कनकासुन्दरी र तिला गाउँपालिकामा कार्यक्रम लागू हुने भएको छ।
विस्तार गर्न बाँकी वडा पातारासीका १, २, ३ र गुठीचौरका १ र २ वडामा लागू हुनका लागि पत्र प्राप्त भएको छ। परियाजना कार्यान्वयन एकाइ खुमलाटारका निर्देशक बैकुण्ठ अधिकारीको हस्ताक्षरित पत्र कार्यालयमा पुगेको निमित्त कार्यालय प्रमुख पोख्रेलले बताएका छन्। पत्रानुसार जुम्ला जिल्लामा सञ्चालित स्याउ सुपरजोन क्षेत्र विस्तारको लागि परियोजना कार्यदलको पत्र तथा जिल्ला परियोजना कार्यान्वयन तथा तथा अनुगमन समितिको सिफारिसअनुसार परियोजना व्यवस्थापन एकाइको निर्णयअनुसार स्याउ सुपरजोन थप क्षेत्र थप गरिएका हुन्।
परियाजना निर्देशक अधिकारीले स्थानीय स्तरबाट आएको माग र प्राविधिक प्रतिवेदनको आधारमा जुम्लाका तिला, हिमा, सिंजा, कनकासुन्दरीसहितका छुटेका क्षेत्रमा कार्यक्रम थप गर्ने काम भएको जानकारी दिए।