मुस्ताङ - मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मौलिक शैलीको प्रशासकीय भवन निर्माण गरेको छ। गाउँपालिकाको केन्द्र कागबेनीमा तिब्बती कला र संस्कृति झल्कने दुईतले २४ कोठे भवन निर्माण भएको हो।
गाउँपालिकाका अध्यक्ष रिङजिन नामग्याल गुरुङले भवनमा मुस्ताङको धार्मिक संस्कृति झल्किने गरी भित्ते लेखन र संरचना निर्माण गरिएको बताए। “मौलिकता झल्किने गरी भवनको बाहिरी आवरण, फर्निचर, प्रवेशद्वारमा भित्ते लेखन र रङरोगन गरिएको छ”, उनले भने, “मौलिकताको संरक्षण÷सम्वद्र्धन र प्रचारप्रसार गर्ने गरी अन्य पालिका भवनभन्दा किसिमको भवन बनाइएको हो।”
भवनको बाहिरी आवरणमा थान्का चित्रको दृष्य प्रष्ट्याउन खोजिएको छ। थान्का कलासंस्कृति बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्ने सजिलो माध्यम हो। बारागुङको प्रशासकीय भवनजस्तै मुस्ताङका अधिकांश गुम्बा यही शैलीमा निर्माण भएका छन्। कागबेनी–मुक्तिनाथ सडक छेउमा रहेको भवन पाहुना र पर्यटकका लागि पनि आकर्षण बनेको छ। भवन हेरेर मुस्ताङको कला र संस्कृतिको बारेमा बुझ्न सकिन्छ। जनप्रतिनिधिको कार्यकक्षमा बौद्ध संस्कृति झल्किने थान्का झुन्ड्याएको छ। सुती र रेशमको बुट्टेदार कपडा बनाएको थान्का चित्र सजाइएको छ। बौद्ध धर्मका देवीदेवता, दृष्य र मण्डला चित्रित छन्।
सङ्घीय सरकारको समानीकरण अनुदानमा आर्थिक वर्ष २०७५÷७६ देखि भवन निर्माण सुरु भएको थियो। चार हजार नौ सय ९५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको भवन निर्माणका लागि रु तीन करोड ९० लाख विनियोजन भएको थियो। गिता क्रियटिभ जेभीले ठेक्कामार्फत भवन निर्माण गरेको हो।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र विषयगत शाखाका लागि कार्यकक्षका साथै सभाहलसहितको भवन बनाइएको छ। तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको जनजीवन, कला, संस्कार र संस्कृति तिब्बतसँग मिल्दोजुल्दो छ। यहाँका अधिकांश मानिसले बुद्ध धर्ममा आस्था र विश्वास राख्ने गर्छन्। पद्यसम्भव मुस्ताङ हुँदै तिब्बत पुगेर शान्ति स्थापना गरी बुद्ध धर्मको संरक्षण गरेपछि मुस्ताङमा बुद्ध धर्मको सुरुआत भएको थियो।