काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले युइएफए च्याम्पियन्स लिगको एक खेल गुमाउने भएका छन्।
काल्फ इन्ज्युरीका कारण मेस्सीले पोर्चुगिज क्लब बेन्फिकाविरुद्धको खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ। मेस्सीसँगै प्रेसनेल किमपेम्वे, नुनो मेन्डेस र रेनाटो सान्चेजले पनि बेन्फिकाविरुद्धको खेल गुमाउने भएका छन्।
पीएसजीले च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति बेन्फिकासँग खेल्ने तालिका छ। ३५ वर्षीय मेस्सीले गत साता बेन्फिकाविरुद्धकै खेलमा चोट बोकेका थिए। उक्त खेलमा मेस्सीले गोल गरेपनि त्यसलाई जोगाउन नसक्दा पिएसजी १-१ गोलको बराबरीमा रोकिन पुगेको थियो। मेस्सीले चोटकै कारण लिग वान अन्तर्गत रिम्सविरुद्धको खेल समेत गुमाएका थिए।
च्याम्पियन्स लिगको समूह ‘एच’ मा रहेको पीएसजी ३ खेलमा अपराजित रहँदै ७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। समान ७ अंक नै रहेपनि बेन्फिका दोस्रो, ३ अंक जोडेर युभेन्ट्स तेस्रो तथा मकावी हाइफा अंकविहीन हुँदै पुछारमा रहेको छ।