काठमाडौँ - टी-२० विश्वकप २०२२ मा बुधवार खेलिएको खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ। वर्षाले वाधा पुर्याएको यो खेलमा भारतले उत्कृष्ट पुनरागमन गर्दै खेल ५ रनले जित्न सफल भएको हो। यो जीतसंगै भारतको सेमीफाइनलसम्म पुग्ने सम्भावना बलियो भएको छ। जीतसंगै भारत छ अंकसहित प्वाइन्ट टेबलको पहिलो स्थानमा पुगेको छ।
भारतले बंगलादेशलाई १८५ रनको लक्ष्य दिएको थियो, तर वर्षाका कारण खेलमा डकवर्थ लुईस नियम लागू भयो। जसअनुसार बंगलादेशका लागि १६ ओभरमा १५१ रनको नयाँ लक्ष्य दिइयो। खेलमा वर्षा हुनु अघिसम्म भारत ब्याकफूटमा थियो, यद्यपि वर्षा रोकिएपछि प्रारम्भ भएको खेलमा भारतका बलरले उत्कृष्ट बलिङ गर्दै बंगलादेशलाई पुनरागमन गर्ने मौका नै दिएनन्।
अन्तिम ओभरमा खेल जित्नका लागि बंगलादेशलाई २० रनको आवश्ययकता थियो। भारतको तर्फबाट बलिङ गर्दै अर्शदीप सिंहले १४ रन मात्र दिए। फलस्वरुप भारत ५ रनले विजयी भएको थियो।