काठमाडौँ - इंग्ल्याण्डका खेलाडी रिस जेम्सले कतारमा हुने विश्वकप गुमाउने भएका छन्। घुँडामा चोट लागेका उनी मैदानमा फर्कन कम्तीमा ८ हप्ता लाग्ने चेल्सी फुटबल क्लबले बताएको हो।
२२ वर्षीय राइट ब्याक गत मंगलबार च्याम्पियन्स लिगमा एसी विरुद्ध २-० को जित निकाल्ने क्रममा घाइते भएका थिए। विश्वकप फुटबल आगामी २० नोभेम्बरबाट सुरु हुँदैछ। इंग्ल्याण्ड अन्य २ राइट ब्याक कायल वाकर र ट्रेन्ट अलेक्सान्डर अर्नोल्ड पनि घाइते हुँदै मैदान बाहिर रहेका छन्।
म्यानचेस्टर सिटीका वाकर अक्टोबरको सुरुवातमा घाइते भएका थिए भने आर्नोल्ड गत हप्ता आर्सनलविरुद्धको खेलमा घाइते भएका थिए। वाकरले विश्वकपसम्म चोट मुक्त हुने आशा व्यक्त गरेका छन्। सो पोजिसनमा न्युक्यासलका काइरन ट्रिपएर प्रबल दाबेदार रहेका छन्।