खेलाडी र प्रशिक्षकबीचको विवादबारे पहिलो बैठकमै निर्णय हुन्छ: नेम्वाङ

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी ४ वर्षका लागि निर्वाचित भएपछि पंकज विक्रम नेम्वाङले खेलाडी र प्रशिक्षकबिचको विवाद पहिलो बैठकबाट निर्णय गर्ने बताएका छन्। 

अध्यक्षमा निर्वाचित भएपछि नेम्वाङले भने, ‘छानबिन समितिको प्रतिवेदनको वृहत रुपमा छलफल गरेर सबै पक्षसँग बसेर समस्याको समाधान गर्नेछौं।’ 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवादमा तानिएका नेम्वाङले एशियन कप छनोटको क्रममा खेलाडी र प्रशिक्षकको विवादबारे कार्यसमितिको पहिलो बैठकपछि निर्णय लिने बताएका छन्। 

यसअघि एन्फाले गठन गरेको छानबिन समितिले एशियन कप छनोटपछि प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न सिफारिस गरेको छ। अलमुताइरी र खेलाडीबीच सेवा सुविधाको विषयमा विवाद भएपछि सिनियर टोलीका १० खेलाडीलाई अलमुताइरीले क्याम्प छाडेर जान सक्ने बताएपछि खेलाडी होटल छाडेर निस्किएका थिए। 

केही महिना अघि मुख्य प्रशिक्षक अलमुताइरीले तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफुले राजिनामा दिने सामाजिक सञ्जालमा लेखेका थिए। उनले राजीनामा भने दिएनन्। 

सोमबार सम्पन्न एन्फाको २१ औँ चुनावी साधारण सभाबाट कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै विजयी भएका थिए। नेम्वाङले ४५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी शेर्पाले ३९ मत प्राप्त गरेका थिए। 

एन्फा अध्यक्षमा निर्वाचित भएपछि नेम्वाङले एन्फासँग जिल्ला, खेलाडी, फिफा र एएफसीसँगको सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।

उनले भने, ‘अहिले एन्फा र जिल्लाहरू तथा एन्फा र क्लबसँगको सम्बन्ध बिग्रिरहेको छ। एन्फा र खेलाडीको सम्बन्ध राम्रो भइरहेको छैन। हामीले फिफा, एएफसी (एसियाली फुटबल महासंघ) सँगकै सम्बन्ध राम्रो गरेर लैजानुपर्छ। सबै बिग्रिएका सम्बन्धलाई एउटा मालामा उनेर सम्बन्ध सुमधुर बनाउँदै अगाडि बढ्नुपर्छ।’

‘यस्तै फिफाबाट प्रारम्भिक आर्थिक प्रतिबन्ध जस्तै अवस्था छ। सोही कारण सधारण सभामा अडिड रिपोर्ट पेस गर्न सकेनौं’, उनले भने। 

नेम्वाङले आफ्नै कार्यकालमा साफ जित्ने महत्वाकांक्षी लक्ष्य राखेका छन्। नेपाली फुटबल इतिहासमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली पहिलो पटक साफ च्याम्पिनयसिपको फाइनलमा पुगेको थियो। महिला टोलीले भने स्थायी उपविजेताको छवि बनाएको छ। 

फुटबल विकासका लागि ग्रासरुट, युथ, महिला, लिगलाई व्यवस्थित गर्ने र राष्ट्रिय लिग शुरु गर्ने बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×