बैतडी - नेपाल पत्रकार महासङ्घ बैतडी शाखाको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन भएका छन्। जिल्लामा अवस्थीको अध्यक्षतामा महासङ्घको १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
शाखाको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट, सह–सचिवमा विनोदसिंह विष्ट र समावेशी सह–सचिवमा प्रेम ओडलाई चयन गरिएको छ। यस्तै चार राष्ट्रिय परिषद् सदस्य र नौ प्रदेश परिषद् सदस्यसमेत छनोट गरिएको छ । सदस्यता विवादका कारण शाखाको गत वर्ष चैतमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन्।
शाखामा नयाँ कार्यसमिति चयनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस सङ्गठन र नेपाल प्रेस सेन्टरबीच सहमती भएको हो। सहमतीका आधारमा कार्यसमिति चयन गरिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तर विष्टले जानकारी दिए।
विवाद समाधानका लागि नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको नेतृत्वमा आएको टोलीले सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्न सहमति गराएको थियो। नयाँ कार्यसमितिका पदाधिकारीलाई महासङ्घका केन्द्रीय सदस्य उत्तर विष्टले आज पदभार ग्रहण गराए।