काठमाडौँ - एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छभन्दा पत्यार लाग्न गाह्रो होला। तर त्यो सत्य हो।
कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामीले दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगरस्थित कभर्डहलमा पुग्ने गरेका छन्। दस वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका यहाँको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका १३ वर्षीय धामी यतिबेला दिनहुँजसो ब्याडमिन्टन खेल्न सदरमुकाम महेन्द्रनगरस्थित कभर्डहलको ब्याडमिन्टन हलमा पुगिरहेका छन्। “दैनिक बस भाडा र अरू गरेर यहाँ खेल्न आउँदा रु तीन सय जति खर्च हुन्छ”, उनले भने, “पैसाभन्दा पनि खेलमा कसरी अगाडि बढ्ने भन्नेमा बढी ध्यान दिएको छु।”
आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन रहेको कञ्चनपुरमा ब्याडमिन्टनमा अशोकजस्तै धेरै नयाँ खेलाडीहरु बिचल्लीमा छन्। यहाँको महेन्द्रनगर, दैजी, झलारी र गुलरिया क्षेत्रमा दर्जनौँ नयाँ जुनियर खेलाडीहरु नियमित अभ्यासमा रहे पनि प्रशिक्षक भने देख्नसमेत पाएका छैनन्। “बिदाको बेला महेन्द्रनगरमा आफन्तको घरमा एक साता बसेर पनि कभर्डहलमा खेल्न आएँ”, धामीले भने, “कभर्डहलमा कमसेकम सिनियर दाइहरुसित खेल्ने र सिक्ने अवसर त मिल्छ।”
दार्चुलाबाट बसाइँ सरी बुबा पवनसिंह धामी परिवारसहित कृष्णपुर आएका धामीले सामाजिक सञ्जाल फेसबुकमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको पेजमा आफू ब्याडमिन्टन खेल्न चाहेको भनेर म्यासेज गरेको बताउँछन्।