अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

काठमाडौँ - स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले  शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ।

महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ। यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन्। योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेका महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताए। आदर्श र पोखरिया माविले अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन्। दुवैमा बर्सेनि निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या अत्यधिक छ। “महानगरले संरचना निर्माणका साथै गुरुकुल र मदरसामार्फत् हुने पठनपाठनमा सुधार गरेको छ”, उनले भने। शैक्षिक लक्ष्य हासिल गर्न अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिँदा बीचैमा सामुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ। 

विराटनगरको आदर्श विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको पूर्वप्राचार्य विष्णुप्रसाद लामिछाने बताउँछन्। आदर्शमा तल्लो कक्षामा मन्टेश्वरी तथा माथिल्लोमा कम्प्युटर प्राविधिकतर्फको अध्यापनमा जोड दिइएको छ। आदर्शमा हाल झण्डै दुई हजार विद्यार्थी अध्ययनरत् छन्। पोखरियामा पनि  विद्यार्थीको आकर्षण बढ्दो छ। विराटनगरको महेन्द्र माविले कम्प्युटर शिक्षामा जोड दिएको छ । अडियो भिजुअल कक्षामा जोड दिएपछि निजी विद्यालयकै हाराहारीमा गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधारको उपभोग गरी पठनपाठन गरिँदै आएको प्राचार्य चन्द्रप्रसाद साहले बताए। “कोरोनाले दुई वर्ष कठिनाइ भयो, पछिल्लो समय विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड्न चालिएको कदम सही सावित भएको छ”, उनले भने। 

दिनेश मण्डल सरकारी विद्यालयमा कम्युटरसम्बन्धी शिक्षा लिन पाएकामा खुसी छन्। “पहिलादेखि आइटीसम्बन्धी पढ्न मन थियो। निजीमा महँगो शुल्कले भर्ना हुन सकिनँ”, उनले भने। जनता मावि परिसरमा बहुप्राविधिक शिक्षालय सुरु गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×