काठमाडाैँ - प्लेअफमा स्थान बनाइसकेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल-२०२२) टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा साबिक विजेता चेन्नई सुपर किङ्सलाई सात विकेटले पराजित गरेकाे छ।
मुम्बईको भएको खेलमा चेन्नईले दिएको १३४ रनको लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा तीन विकेट गुमाएर पुरा गरेकाे हाे।
गुजरातको जितमा ओपनर रिद्धिमान शाहले सर्वाधिक ६७ रन बनाए। यस्तै, म्याथु वाइडले २०, सुभमन गिलले १८ र डेभिड मिलरले १५ रन जोडेका थिए।
चेन्नईका मथिसा पथिरानाले दुई विकेट लिँदा मोइन अलिले एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङमा आएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३३ रनको योगफल तयार पारेको थियो।
चेन्नईका ओपनर रितुराज गैकवाडले सर्वाधिक ५३ रन बनाए। यस्तै, नारायन जगदिशनले ३९ र मोइन अलिले २१ रन जोडेका थिए। गुजरातका मोहम्मद सामीले दुई विकेट लिँदा राशिद खान, अल्जारी जोसेफ र रविश्रिनिवासन साई किशोरले समान एक विकेट लिएका थिए।
जितसँगै १३ खेलबाट २० अंक जोडेको गुजरात शीर्ष स्थानमा रहेकाे छ। गुजरातले प्ले अफमा स्थान बनाइसकेको छ। यस्तै, समान खेलबाट आठ अंक जोडेको चेन्नई तालिकाका नवौं स्थानमा रहेकाे छ।