टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालन

काठमाडौँ । म्याग्दीको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएको छ।

रघुगङ्गा गाउँपालिकाले रु. एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान, सडक र उच्च स्थानको खेलमैदान निर्माण गर्न लागेको हो। गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले तीनवटै योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिए। “गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको छ”, उनले भेन, “झिँ–टोड्के सडक र टोड्के हाइअल्टीच्युड खेलमैदान निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ।”

वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु. ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो। गाउँपालिकाका इञ्जीनियर सुदीप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईवटा प्रतिक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउन लागिएको जानकारी दिए।

यसैगरी रु ३८ लाख ८० हजार लागत अनुमान गरिएको झिँ–टोड्के सडक निर्माणका लागि बेनीको सम्मान कन्ट्रक्शनसँग रु २१ लाख ६३ हजार ३१ मा ठेक्का सम्झौता भएको छ। सडकलाई फराकिलो बनाउने, ग्रेड, घुम्ती सुधार तथा नाली बनाउने, ढुङ्गा बिछ्याएर सोलिङ गर्ने योजना छ। सडक र पदमार्ग निर्माण भएपछि झिँ हुँदै टोड्के जाने पर्यटकहरूले सुरक्षित र सहज रूपमा यात्रा गर्न पाउने वडाध्यक्ष मनबहादुर थजालीले बताए। “यात्रा सुरक्षित, सहज हुने, यात्राअवधि र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ”, उनले भने, “पाखोको चिप्लो र भिरालो तथा साघुरो कच्ची पदमार्गमा चिप्लिएर लड्ने समस्या थियो।”

टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनिषा निर्माण सेवासँग रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। खेलमैदान निर्माण गर्न रु. ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएको थियो। पदमार्ग निर्माण भएपछि समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा गुराँसको जङ्गलको बीचमा अवस्थित टोड्केबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

धवलागिरि सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्धारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावनासमेत छ। स्वर्गद्धारीको शाखा र शिव मन्दिरको जिर्णोद्धार गर्न विस्तृत परियोजना प्रतिवेदन बनाएर पुरातत्व विभागमा प्रस्ताव गरिएको छ। गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयको रु. १० लाख सहयोगमा सिद्ध सामुदायिक वन उपभोक्ता समूहले टोड्केमा उद्यान निर्माण गरेको थियो। यसैगरी मङ्गला गाउँपालिकाले पूर्णगाउँबाट टोड्के जोड्ने सडक स्तरोन्नति गरेको थियो।

यसअघि, गण्डकी प्रदेश सरकारको सहयोगमा टोड्केको फेदीमा पर्ने झिँगाउँमा सामुदायिक घरबास सञ्चालन भएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×