तानसेनमा बाघजात्रा देखाइयो

पाल्पा - पाल्पाको सदरमुकाम तानसेनमा आइतवार बाघजात्रा देखाइएको छ। सो जात्रा प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने परम्परा रही आएको छ।         

बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरी जात्रा देखाइएको छ। यहाँ हरेक वर्षजस्तै यसवर्ष पनि पाल्पाली नाट्य कला सांस्कृतिक समूह तानसेन –६ बसपार्कका युवा र बालबालिकाले बाघजात्रा देखाएका हुन्।  

मानिसलाई बाघको रुपमा सिंगारेर शिकारीले घेरेको अभिनयमा बाघजात्रा देखाइने गरिन्छ। यस जात्राप्रति बालबालिका, युवायुवती र ज्येष्ठ नागरिक उत्साहित हुँदै अवलोकन गर्दछन्। परापूर्वकालमा बाघको आतङ्कले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको बूढापाका बताउँछन्। केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भए पनि देखाउने गरिएको छ।

परम्परागत रुपमा मनाईदै आइएको जात्रा पछिल्ला वर्षहरुमा हराउँदै जान थालेपछि पुराना पुस्ता भने चिन्तित छन्। समुदायको पहिचान बोकेको पुरानो परम्परा र संस्कृति संरक्षणमा जोड दिनुपर्ने तानसेनका स्थानीयवासी तथा नेपाली कांग्रेसका पाल्पा उपसभापति झपेन्द्र गहिरे बताउँछन्।

उनी भन्छन्, “पर्व विशेषरुपमा देखाइने विभिन्न संस्कृतिले हाम्रो गाउँ समाजका दुःख सुखको कथा बोकेको हुन्छ, अर्कोतर्फ यसरी जात्रा देखाउँदा मानिसलाई खुसी र रमाइलो बनाउने संस्कृतिलाई बचाउँदै निरन्तरता दिनुपर्दछ।” 

पछिल्ला वर्षमा बढ्दो सूचना र प्रविधिको विकासले पहिलेजसो भने जात्रा हेर्न धेरै टाढाबाट आउने क्रम भने कमै पाइन्छ। तैपनि संस्कृति धान्न पर्वअनुसार भने निरन्तररुपमा देखाउने गरिएको छ। 

जिल्लामा नागपञ्चमी पर्व शुरू भएपछि लाखेनाच, गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रालगायतका विभिन्न संस्कृति देखाउने गरिन्छ। युवा महिलाको भेषमा सजिएर व्यङ्ग्य गर्दै जात्रा निकाल्ने प्रचलन छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×