काठमाडौं– सिनेमा हलमा तहल्का मच्चाइरहेको एसएस राजमौलीको फिल्म ‘आरआरआर’को विषयमा अभिनेत्री आलिया भट्टको विवाद चर्किरहेको अवस्थामा फिल्मसँग सम्बन्धित सम्बन्धित पोष्टहरु हटाएको र राजमौलीलाई अनफलो गरेकाबारेमा आलियाले स्पष्टीकरण दिएकी छिन्। फिल्ममा मुख्य भूमिकामा राम चरण र जुनियर एनटीआर छन्। सँगै आलिया र अजय देवगणको पनि सानो भूमिका फिल्ममा देखाइएको छ।
स्क्रिनमा आफ्नो दृश्यलाई कम गरेको विषयमा आलिया फिल्मको निर्माण पक्षसँग रिसाएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। जसकारण उनले सामाजिक सञ्जालबाट उक्त फिल्मसँग जोडिएका सम्पूर्ण पोष्टहरु डिलिट समेट गरेकी छिन्। विवाद चर्किरहँदा आलियाले फिल्मसँग सम्बन्धित पोस्टहरुलाई डिलिट गरेको विषयमा उनले स्पष्टीकरण दिएकी छिन्। उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, ‘आजकलको दुनियाँमा मैले आफ्नो बारेमा यस्तो कुरा सुनेँ कि मैले फिल्मको निर्माण पक्षसँग रिसाएका कारण ‘आरआरआर’को पोस्ट डिलिट गरेको हुँ। म सबैसँग यस किसिमको हल्ला नफैलाउन आग्रह गर्छु। इन्ट्राग्राम ग्रिडमा पोस्ट डिलिट गरेको भन्दै यस्तो हल्ला नफैलाइदिनु होला। म आफ्नो प्रोफाइललाई सफा राख्न चाहन्छु, त्यसैले पुरानो फोटो र भिडियोलाई रिअलाइन गर्ने गर्छु।’
आलियाले आफू आरआरआरको हिस्सा बन्न पाउँदा निकै खुसी भएको र फिल्मको निर्माण पक्षप्रति आभार रहेको बताएकी छिन्। उनले फिल्ममा सीताको भूमिका निभाउँदा निकै सुन्दर महसुस भएको बताएकी छिन्। उनले भनेकी छिन्, ‘एसएस राजमौली सरले मलाई डिरेक्ट गर्नुभयो, म यसमा निकै खुसी छु। तारक र चरणसँग काम गर्न पाउँनु पनि मेरो सौभाग्य हो। मलाई यो फिल्मसँग जोडिन पाउँदा निकै अनुभव गर्ने मौका प्राप्त भएको छ।’
