काठमाडौँ - सामाजिक सुरक्षा कोषले प्रत्येक वर्ष योगदानकर्ताका ८४ जना सन्ततिलाई छात्रवृत्ति दिने गृहकार्य गरेको छ। प्रत्येक प्रदेशबाट ६ जना महिला र ६ जना पुरुषले तोकिएका ६ विषय अध्ययन गर्दा छात्रवृत्ति पाउने व्यवस्था गर्न लागिएको हो।
कोषले नयाँ कार्यविधि नै बताएर योगदानकर्ताका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको हो। कोषले ‘योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि २०७९’ तयार पारेको छ। नयाँ कार्यविधिमा प्रत्येक प्रदेशबाट ६ जना महिला र ६ जना पुरुष पर्नेगरी १२ जनालाई छात्रवृत्ति दिने व्यवस्था राखिएको छ। यसरी छात्रवृत्ति दिँदा आम्दानी कम हुने योगदानकर्ताको सन्ततिलाई प्राथमिकता दिने गरी व्यवस्था गरिएको कोष स्रोतले जानकारी दियो।
‘प्रत्येक प्रदेशबाट ६ जना महिना र ६ जना पुरुषले छात्रवृत्ति पाउँदा १२ जनाले पाउने भए, सातै प्रदेश समेट्ने गरी कार्यविधि बनाइएकोले प्रत्येक वर्ष ८४ जनाले छात्रवृत्ति पाउँछन्,’ स्रोतले भन्यो। कार्यविधिमा विभिन्न ६ विषय अध्ययनको लागि मात्रै छात्रवृत्ति पाउने उल्लेख गरिएको छ। कोषले योगदानकर्ताका सन्ततिलाई चिकित्सा शास्त्र, इन्जिनियरिङ, नर्सिङ, वनविज्ञान, कृषि र होटल म्यानेजमेन्ट अध्ययन गर्नका लागि छात्रावृत्ति दिन लागेको हो। कोषले छात्रवृत्ति वापत ५ लाख रुपैयाँ प्रदान गर्ने प्रस्ताव कार्यविधिमा गरिएको छ।
घातक रोगको उपचारमा १० लाख
यस्तै, कोषले योगदानकर्तालाई घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च दिने गरी कार्यविधि संशोधनको प्रक्रिया अघि बढाएको छ। अहिलेसम्म घातक रोगको उपचारमा कोषले रकम दिने भन्ने व्यवस्था थिएन। घातक (क्रिटिकल) रोगको उपचारको सुविधा पाउने समय भने बढाइएको छ।
कोषले पेन्सनप्रति योगदानकर्ता आकर्षित हुन भनेर यस्तो व्यवस्था गर्न लागेको हो। प्रस्तावित व्यवस्थाअनुसार कोषमा योगदान रकम जम्मा गर्न लागेको २ वर्ष पूरा भएपछि पेन्सन लिन थालेको ७ वर्ष पछिसम्म क्रिटिकल रोग उपचार सुविधा लिन पाइने व्यवस्था थप गर्न लागिएको छ।
‘६० वर्षदेखि पेन्सन सुविधा सुरु हुन्छ, क्रिटिकल रोग लाग्ने भनेकै खासगरी ६० वर्षपछि हो, त्यसैले पेन्सन लिन थालेको ७ वर्ष पछिसम्म अर्थात ६७ वर्षसम्म क्रिटिकल रोग उपचारको सुविधा पाउने व्यवस्था गर्न लागिएको हो,’ कोष स्रोतले भने।
कोषले योगदानकर्ताको दम्पतीकै उपचार गर्दा पनि औषधी उपचार सुविधा पाइने व्यवस्था थप गर्न लागेको छ। अहिलेसम्म योगदानकर्ताको लागि मात्रै उपचार खर्च दिने व्यवस्था गरिएकोमा अबदेखि योगदानकर्ताको दम्पतीले नै उपचार खर्च पाइने व्यवस्था गर्न लागिएको हो। तर, उपचार खर्च रकम भने बढाइएको छैन। वार्षिक १ लाख रुपैयाँमा नवढ्ने गरी योगदानकर्ताको दम्पतीले उपचार खर्च सुविधा दाबी गर्न पाइने व्यवस्था गर्न लागिएको छ।