काठमाडौँ - म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ।
म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशन/प्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको हो। बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेको समाचार प्रकाशित भएपछि आयोगको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको हो।
मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको पाइएको अनुगमन टोलीका एक सदस्यले बताए। नगरपालिकासँगको सम्झौता अनुसार बगरमा तीन हजार ७४२.२० घनमिटर उत्खनन गर्नुपर्नेमा ९३ सय घनमिटर उत्खनन भएको पाइएको उनले बताए। मापदण्ड अनुसार ९० सेन्टिमिटर गहिराईसम्म उत्खन्न गर्ने सम्झौता भएकोमा सरदर १ दशमलव ६ मिटर गहिरो बनाइएको छ।
यस्तै, अर्को सजेनी बगरमा पनि मापदण्डविपरीत नदी उत्खनन गरेको पाइएको छ। सतहदेखि १७ घनमिटर उत्खनन गर्ने सम्झौता भएकोमा दुई हजार एक सय घनमिटर उत्खनन भएको पाइएको छ। “मापदण्ड र सम्झौता विपरीत नदी उत्खनन भएको भनेर सूचना आएपछि अख्तियारको टोलीले स्थलगत अनुगमन गरको हो”, आयोगको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले भने, “मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेबापत के कारवाही गर्ने भन्ने विषयमा अनुगमन टोलीले रिपोर्ट बुझाएपछि मात्र निर्णय हुन्छ।”
स्काभेटर प्रयोग गरी नदीको धार परिवर्तन गराई ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्दा तटीय क्षेत्रमा बाढी, कटानको जोखिम बढेको, राजस्व गुमेको, जलचरको बासस्थान र वातावरणमा असर पुगेको छ। अनुगमनमा बेनी नगरपालिकाका कर्मचारीको समेत सहभागिता थियो। टोलीले अन्य बगरमा पनि अनुगमन गरेको थियो।