काठमाडौं - सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ। गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध चिसिँदै गएको हो।
नेपाली कांग्रेस भने हौसिएको छ। शनिबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट शुरू भइसकेको बताए। ढिलो–चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने दाबी गर्दै उनले वर्तमान सत्ता गठबन्धन लामो समय नजाने दाबी गरे।
प्रवक्ता महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलका रूपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्याइएको भन्दै बिना योजना सत्ता प्राप्तिकै लागि मात्रै गरिएको गठबन्धनमा अहिले नै खटपट आइसकेको बताए। सत्ता सहयात्राका प्रमुख पात्र ओली र उनकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डबीच राष्ट्रपति निर्वाचनको विषयलाई लिएर चिसोपन बढ्दै गएको गठबन्धनकै नेताहरुले सार्वजनिक गर्न थालेका छन्।
शुक्रबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा समेत राष्ट्रपति निर्वाचनको विषय लिएर प्रचण्ड र ओलीबीचमा ‘भनाभन’ नै भएको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने बताएपछि एमाले अध्यक्ष ओलीले प्रतिवाद गर्नुभएको बैठकमा सहभागी एक नेताले बताए।
नेपाल समाचारपत्र दैनिकबाट