काठमाडौँ - वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ। गएराति सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १६५ रनको लक्ष्य भारतले १९ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो।
उसका लागि ओपनिङ ब्याटर सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले। ४४ बलको सामना गरेका उनले ८ चौका र ४ छक्कासहित ७६ रन बनाएका थिए। त्यस्तै, ऋषभ पन्तले अविजित ३३, श्रेयस अय्यरले २४, कप्तान रोहित शर्माले ११ र दीपक हूडाले अविजित १० रन जोडेका थिए।
वेस्ट इण्डिजका लागि डोमेनिक ड्रिक्स, जेसन होल्डर र अकील हुसेनले १/१ विकेट लिएका थिए।
त्यसअघि सेन्ट किट्सस्थित वार्नर पार्क मैदानमा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो। उसका लागि ओपनर कायल मेयर्सले अर्धशतकीय पारी खेलेका थिए। उनले ५० बलमा ८ चौका र ४ छक्कासहित ७३ रन बनाएका थिए।
त्यस्तै, रोभम्यान पावेलले २३, कप्तान निकोलस पूरनले २२, शिमरोन हेटमायर र ब्रेण्डन किंगले २२ रन जोडेका थिए। भारतका लागि भुवनेश्वर कुमारले २, अर्शदीप सिंह र हार्दिक पाण्ड्याले १/१ विकेट लिएका थिए।
यो जितसँगै ५ खेलको सिरिजमा भारतले २-१ का अग्रता लिएको छ। भारत र वेस्ट इण्डिजबीचको दोस्रो टी-२० शनिबार हुनेछ।