काठमाडौँ । नेकपा माओवादी केन्द्रले बैतडीमा पनि पालिका अधिवेशन कार्यलाई अघि बढाएको छ।
गत मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको तीन पालिकामा अधिवेशन सम्पन्न भएको हो। माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार पुर्चौंडी नगरपालिका, दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनबाट तीनवटै स्थानीय तहमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ। पुर्चौंडी नगरपालिकामा आनन्द सिंह धामीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ। कमिटीको उपाध्यक्षमा उज्ज्वल सिंह साउँद, लीला जोशी, मने लुहार, सचिवमा धर्मानन्द बडू, सहसचिवमा निराजन ढुँगाल र कोषाध्यक्षमा पुष्कर विष्ट चयन भएका हुन्।
दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको जनाएको छ। उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त बिष्टलगायत अन्य सदस्यहरु रहेका छन्। यस्तै, सिगास गाउँपालिकामा प्रकाश साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ। सो कमिटीको उपाध्यक्षमा उद्धव धामी, लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रवीन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी र सहसचिवमा दानसिंह साउँद चयन भएका छन्। अन्य बाँकी सात पालिकाहरूमा पनि मङ्सिर २५ गते अगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ। माओवादी केन्द्रले पहिलोपटक देशभर एकै दिन पालिका अधिवेशन गरेको हो।
तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवत् रूपमा समिति बनाइएको हो। राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ। माओवादी केन्द्रले २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ। प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा उक्त पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ।