काठमाडौँ - फिल्म ‘द डर्टी पिक्चर’ को सिक्वेल बन्ने भएको छ। अभिनेत्री विद्या बालनलाई बलिउडमा स्थापित गर्ने यो फिल्ममा विद्याको अलवा नसिरुद्दीन शाह र इमरान हाशमीको समेत मुख्य भूमिका रहेको थियो।
२०११ मा रिलिज यो फिल्मले चर्को विरोधका बाबजुत पनि राम्रो व्यवसाय गरेको थियो। फिल्म रिलिज भएको झण्डै १ दशकपछि यसको सिक्वेलको काम अगाडि बढेको छ। फिल्मको अहिले सिक्वेलको लागि स्क्रिप्टको काम सुरु भएको छ।
‘द डर्टी पिक्चर’को कथा चर्चित अभिनेत्री सिल्क स्मिताको जीवनमा आधारित थियो। फिल्मले गाउँकी केटी हिरोइन बन्ने सपना लिएर चेन्नई भागेर फिल्मी दुनियाँमा रेशम बनेर फिल्म उद्योगमा कसरी राज गर्छिन् भन्ने देखाएको छ। तर, यो फिल्मको सिक्वेलको कथा अर्कै हुनसक्ने बताइएको छ।
रिपोर्टका अनुसार यस फिल्ममा विद्या बालनको स्थानमा कृति सेनन वा तापसी पन्नु पनि हुनसक्नेछिन्। एकता कपुर लामो समयदेखि यो फिल्मको सिक्वेल बनाउने योजनामा थिइन्। यो वर्षको अन्त्यसम्ममा फिल्म सम्पन्न हुने अपेक्षा गरिएको छ। बालाजी मोशन पिक्चर्स र एकता कपुर यस फिल्मलाई लिएर निकै उत्साहित छन्।