काठमाडौँ - जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकले टिमो वेर्नर पुरानै क्लब आरबी लाइपजिग फर्किनु जर्मन बुन्डेसलिगा र खेलाडी दुवैका लागि राम्रो भएको बताएका छन्।
पछिल्लो २ वर्ष लय भेट्टाउन संघर्ष गरिरहेका वेर्नर यसै वर्ष कतारमा हुने विश्वकपका लागि सही स्ट्राकर हुन् कि होइनन् भन्ने प्रश्न उब्जिएको थियो। वेर्नर मंगलबार इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट बुन्डेसलिगाको क्लब लाइपजिग फर्किएका छन्। उनले पूर्व क्लबसँग ४ वर्षका लागि सम्झौता गरेको बताइएको छ।
२६ वर्षे स्ट्राइकर वेर्नरले सिनियर करियरको अधिकांश समय लाइपजिगमा विताएका थिए। उनले २०१६ देखि २०२० सम्म लाइपजिगमा बस्ता क्लबबाट सबैभन्दा धेरै ९५ गोल गरेका थिए। 'वेर्नर बुन्डेसलिगा फर्किंदा म धेरै खुसी छु,' फ्लिकले भने, 'उनीसँग जुन क्षमता छ, त्यसले हरेक लिगको स्तर वृद्धि गर्न सहयोग गर्नेछ।'
प्रिमियर लिगको क्लब चेल्सीमा २ वर्ष विताएर वेर्नर पुरानै टिममा फर्किएका हुन्। चेल्सीमा वेर्नरले च्याम्पियन्स लिग, यूईएफए सुपर कप र क्लब विश्वकपको उपाधि जितेका थिए। चेल्सीबाट ६९ खेलमा वेर्नरलले २३ गोल गरेका थिए।
लाइपजिगमा वेर्नर पुरानै लयमा फर्किने अनुमान गरिएको छ। जसका कारण जर्मनीलाई विश्वकपमा सहयोग पुग्नेछ। लाइपजिग गत सिजन बुन्डेसलिगाको शीर्ष ४ मा रहेर च्याम्पियन्स लिगका लागि छनोट भएको थियो।
'लाइपजिगमा वेर्नरले आफूलाई अन्तर्राष्ट्रिय स्ट्राइकरका रूपमा परिपक्क बनाएका थिए। अब फेरि उनले च्याम्पियन्स लिगमा आफूलाई विश्वका अन्य उत्कृष्ट स्ट्राइकरसँग परिक्षण गर्नेछन्,' फ्लिकले भने।
वेर्नरले जर्मनीबाट ५३ खेलमा २४ गोल गरेका छन्।