काठमाडौँ - चोटसँग संघर्ष गरिरहेको फरवार्ड रोमेलु लुकाकुलाई समेट्दै बेल्जियमले कतार विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ।
बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको हो। बाया तिघ्रामा लागेको चोटका कारण लुकाकुले यो सिजन इटालियन क्लब इन्टर मिलानका लागि केवल ५ खेल मात्रै खेलेका छन्।
प्रशिक्षक मार्टिनेजले राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता लुकाकुलाई समूह चरणको कम्तीमा पनि १ खेल खेल्न सक्ने अवस्था रहेकोले टोलीमा राखिएको बताएका छन्। लुकाकुले ह्यामस्ट्रिङको चोटले सिजनको सुरुमा २ महिना मैदान बाहिर रहेका थिए। त्यसपछि पूनरागमन गरेपनि उनले चोट बोक्न पुगेका थिए।
युरी टिलेमान्स, वाउट फेस, टिमोथी कास्टाग्ने, लिआन्ड्रो ट्रोसार्ड, लिन्डर डेन्डन्कर र अमाडो ओनानाले पनि बेल्जियमको टोलीमा स्थान बनाएका छन्। मिडफिल्डर केभिन डि ब्रुएनाले पनि टोलीमा स्थान बनाउँदा डिभोक ओरिगी र अल्बर्ट साम्बी लोकोंगाले विश्वकप गुमाउनेछन्।
बेल्जियमले नोभेम्बर २३ मा क्यानडासँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ। त्यसको ४ दिनपछि मोरक्कोसँग तथा १ डिसेम्वरमा क्रोएसियासँग खेल्ने तालिका रहेको छ।
बेल्जियमको पूर्ण टोली
गोलकिपर - थिबाउट कोर्टुवा, सिमोन मिग्नोलेट र कोएन कास्टेल्स
डिफेन्डर - जान भर्टोन्घन, टोबी एल्डरवेरेल्ड, वाउट फेस, आर्थर थिएट, जेनो डेबास्ट, थोमस म्युनियर र टिमोथी कास्टग्ने
मिडफिल्डर - केभिन डि ब्रुएना, युरी टिलेमान्स, अमाडो ओनाना, एक्सेल विट्सेल, हान्स भानाकेन, लिअन्डर डेन्डोन्कर, यान्निक कारास्को र थोरगन हाजार्ड
फरवार्ड - इडेन हाजार्ड, चाल्स डि केटेलेर, लिआन्ड्रो ट्रोसार्ड, ड्रिज मर्टेन्स, जेरेमी डोकु, रोमेलु लुकाकु, मिसी बात्सुयाई र लोइस ओपेन्डा