काठमाडौँ - दुई पटकको द बेस्ट फिफा मेन्स प्लेयर, पोल्याण्ड र जर्मनीमा एक दर्जन पटक वर्षको उत्कृष्ट खेलाडी, बुन्डेस लिगामा सात पटक सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप र यूईएफए च्याम्पियन्स लिग विजेता...। पोल्याण्डका ३४ वर्षीय स्ट्राइकर कप्तान रोबर्ट लेवान्डोस्कीले हासिल गरेका उपलब्धिहरुको सूची लामो छ।
बार्सिलोनामा आबद्ध हुनअघि लेवान्डोस्कीले बायर्न म्युनिख र बोरुसिया डर्टमण्डमा रहँदा ३८४ खेलमा ३१२ गोल गरेका थिए। ला लिगामा पनि उनले आफ्नो गोल वर्षा जारी राखेका थिए। पोल्याण्डका लागि उनले १३२ खेलमा ७६ गोल गरिसकेका छन्। तर उनको लोभलाग्दो बायोडाटामा एउटा कुरा भने गयल छ, त्यो हो विश्वकपमा गोल।
सन् २०१८ मा रुसमा लेवान्डोस्कीले पहिलोपटक विश्वकप खेलेका थिए तर त्यहाँ उनले गोल गर्न सकेनन्। अन्ततस् पोल्याण्ड समूह चरणबाट नै बाहिएको थियो। गत मंगलबार उनले मेक्सिकोविरुद्ध खाता खोल्ने सुन्दर अवसर पाएका थिए। तर, पेनाल्टीमा चुक्दा उनको यो सपना अझै अधुरो नै रहेको छ।
त्यही भएर ३४ वर्षीय खेलाडीलाई कतार विश्वकपमा विश्वकपमा गोलकर्ताको सूचीमा आफ्नो नाम राख्ने चुनौती छ। पोल्याण्डलाई नकआउट चरणमा पुर्याउने जिम्मेवारी पनि उनको काँधमा रहेको छ।