लमजुङमा हिमपात हुँदा जनजीवन प्रभावित

लमजुङ - लमजुङ जिल्लामा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ। जिल्लाका उच्च तथा ग्रामीण भेगमा परेको हिमपातका कारण जिल्लाभर चिसोले जनजीवन प्रभावित भएको छ। बिहीबार साँझदेखि वर्षा भएकोमा आज बिहानदेखि उच्च भेगमा हिमपात र जिल्लाका अधिकांश भागमा वर्षा हुँदा यहाँका जनजीवन प्रभावित हुन पुगेको हो। 

लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ, मस्र्याङ्दी गाउँपालिका–१, घनपोखरा ३, हर्सिङडाँडा र सिउरुङ,  बेँसीशहर नगरपालिका–१० को पिस हिल, खाँचे, दोर्दी गाउँपालिका–६ दाम्राङ,लगायत ग्रामीण बस्तीमा बाक्लो हिमपात भएको स्थानीयवासीले बताएका छन्। घलेगाउँका स्थानीय गङ्गाबहादुर घलेले भने, “साँझदेखि हल्काहल्का परेको थियो । बिहानदेखि बाक्लो हिमपात हुँदा गाउँका १२५ घरधुरी नै हिमपातले ढाकेको छ।” अझै हिमपात र चिसो बढिरहेकाले यहाँका स्थानीयवासी काममा निस्कन नसकेको उनको भनाइ छ। यसअघि यही माघ १२ गते मङ्लबार हिउँ परेको थियो। हिमपात भइरहेकाले गाईबस्तुलाई खुवाउनका लागि घाँस काट्नसमेत जान नसकेको बताइएको छ। 

पिस हिल स्टेशनका सञ्चालक जीत तामाङले तल्लो बस्ती भुस्मेसम्मै हिउँ पर्दा यहाँका जनजीवन प्रभावित भएको बताए। दोर्दी गाउँपालिकाका पर्यटन व्यवसायी युवराज अधिकारीले दाम्राङ डाँडामा पनि हिमपात भएकाले डाँडा क्षेत्र रमणीय देखिएको बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले भने, “हिमपात नभएको स्थानमा वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।”

यतिबेला हिउँ नपरेको स्थानमा समेत चिसो भइरहेकाले अधिकांश स्थानीय घरभित्रै बस्न बाध्य भएको उनको भनाइ छ। हिमपात र वर्षा भइरहे पनि हालसम्म कुनै घटना तथा कुनै पनि सडक भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घलेगाउँ, सिउरुङलगायत गाउँ घरबास (होमस्टे) हो। यहाँ हिउँ पर्दा विगतमा पर्यटक आउने गरे पनि यसवर्ष कोरोना सङ्क्रमणका कारण सुनसान रहेको घरवास सञ्चालकको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×