नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेस, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलबारे छलफल चलिरहेका बेला कांग्रेसले सातै प्रदेश समेट्ने गरी उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।
पार्टीका शीर्ष नेताका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपांगता/अल्पसंख्यक) लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। बागमती प्रदेशबाट गीता देवकोटा (महिला) कांग्रेसकी उम्मेदवार रहनेछिन्।
यसैगरी गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे ‘जंगली’ (अपांगता) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) लाई उम्मेदवार बनाइएको छ।
आजै राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम रहेको छ। कांग्रेसले समावेशी सिद्धान्तअनुसार विभिन्न वर्ग र समुदायलाई प्रतिनिधित्व गराउने गरी उम्मेदवार चयन गरिएको जनाएको छ।
चुनावी तालमेलबारे अन्तिम निर्णय हुन बाँकी रहे पनि कांग्रेसले उम्मेदवार टुंग्याएसँगै राष्ट्रिय सभा निर्वाचनको राजनीतिक सरगर्मी थप बढेको छ।