काठमाडौँ - आदिवासी जनजाति महासङ्घ सप्तरीको जिल्ला अधिबेशनले अरुणकुमार प्रधानलाई अध्यक्षमा चयन गरेको छ।
शम्भुनाथ नगरपालिकास्थित आदिवासी जनजाति भवन कठौनामा आयोजित चौथो जिल्ला अधिवेशनले प्रधानको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गरेको हो। नवनिर्वाचित समितिका उपाध्यक्षमा उपेशकुमार सिंह, इन्द्रनारायण मण्डल र शर्मिला चौधरी, सचिवमा अरबिन्दकुमार चौधरी, सहसचिवहरूमा रवीना तामाङ, उद्धवकुमार भुजेल र रञ्जना खपाङ्गी मगर तथा कोषाध्यक्षमा सूर्यमान तामाङ चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा उज्वल चौधरी, दीपेन्द्रकुमार चौधरी, मनमाया थोकर, कुशवाहाकान्त मण्डल, गोपालप्रसाद चौधरी र देवी जोशी रहेका छन्। जिल्ला समितिमा बाँकी छ सदस्य मनोनित गरिने निर्णय भएको निर्वाचन समिति सदस्य एवं महासङ्घका पूर्वअध्यक्ष यमबहादुर खपाङ्गी मगरले जानकारी दिए।
यसअघि, शनिबार मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले अधिवेशनको उद्घाटन गरेका हुन्।